FAQs Complain Problems

समाचार

चाँगुनारायणको एकीकृत शहरी विकास योजना निर्माण

चाँगुनारायण नगरपालिकाले एकिकृत शहरी विकास योजना निर्माण गरेको छ । नयाँ सहरको रुपमा विकास गरिन लागेको चाँगुनारायण नगर क्षेत्रभित्रको सम्भाव्यता अध्ययन गरी योजना निर्माण गरिएको हो। नगरपालिकाका प्रमखु, उपप्रमुख, वडा अध्यक्षसहित कार्यपालिका सदस्य, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि र प्राविधिक टोलीसहितको सहभागितामा ३ दिने कार्यशालाले योजना निर्माण गरेको हो। कार्यशालामा चाँगुनारायण नगरपालिकाको दिर्घकालिन बिकासको प्रमुख आधार, सम्भावना, चुनौति र अवसरबारे गहन छलफल गरी ‘कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मुल आधार’ को लक्ष्य निर्धारण गरेको नगरप्रमुख सोम मिश्रले जानकारी दिनुभयो। कार्यक्रममा परामर्शदाता निकाय दिघो बिकास र अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा नगरपालिकाको १५ बर्षे योजनाको समग्र बिकासको खाका पेश गरी सो माथि छलफल र परामर्शका आधारमा प्रारम्भिक एकीकृत शहरी विकास योजना तयार पारिएको उहाँले बताउनुभयो। कार्यशालाले सुरक्षित, समृद्ध एवं ब्यबस्थित नगरको विकास गर्ने बाटो तय गरी योजना निर्माण गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी तिम्सिनाले बताउनुभयो। प्रारम्भिक योजनालाई दुई महिनाभित्र प्रतिवेदनका रुपमा तयार पारेर सार्वजनिक गरिने केन्द्रका प्रबन्ध निर्देशक केशव राज पाठकले जानकारी दिनुभयो। केन्द्रकै प्राविधिक सहयोगमा ३०–३० करोडका रोड र ल्याण्डफिल्ड साईटको डिपिआर तयार पार्ने पाठकले जानकारी दिनुभयो। योजना निर्माण कार्यक्रमको उद्घाटन संघीय सांसद प्रेम सुवाल गर्नुभएको थियो। सो अवसरमा सांसद सुवालले सन्तुलित बिकास हुने गरी नगरपालिकाको एकिकृत शहरी विकास योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उपत्यकाभित्र तीव्र शहरीकरण भईरहेको सन्दर्भमा नेपालमा पनि विगत केहि दशकदेखि अनियन्त्रित शहरी विकास देखिएको भन्दै उहाँले एकीकृत शहर विकासका लागि भौतिक विकास योजनाहरुको तर्जुमा धेरै पहिलेदेखि भएता पनि यसलाई कार्यान्वयनमा ल्याउन र सन्तुलित शहरी विकास गर्न एकीकृत योजना आवश्यक रहेको बताउनुभयो। नगरपालिकाका उपप्रमुख बिना बास्तोलाको स्वागतबाट सुरु भएको कार्यशाला गोष्ठीमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवँर, सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, शहरी बिकास योजनाबिद् बाबुराम भट्टराईलगायतले एकीकृत शहरी विकास योजनाले नगरपालिकाको कृषि, पर्यटन, सामाजिक पूर्वाधार मार्फत् समृद्ध नगर निर्माणमा टेवा पुग्ने बताउनुभयो ।